Bipin Lamichhane
9 min readMay 10, 2020

--

एक युवकको चिट्ठी

आदरणिय सम्पुर्ण नेपालीमा मेरो नमस्कार !

मिडियामा र पत्रपत्रिकामा प्राय जसो नेपाली राजनीतिका उच्च वर्गलाई खुला पत्र लेखिँदै आएको र हामीले पनि धेरै त्यस्ता पत्रहरु पढेको त कुनै नौलो कुरो रहेन | समस्याहरु को नालिबेलि सुनाएर ध्यानाकर्षण गर्न होस् वा राजनितिप्रतिको क्रोधको आगो मनबाट निभाउन, जे भए पनि पत्र लेख्ने र पढ्ने क्रम निरन्तर चलिनै रहेको थियो र सायद चलिनै रहने छ | तर हिजोआज मेरो मनमा एकाएक एउटा हुटहुटि जागेर आयो | सधैँ उच्चपद्स्थ व्यत्तिलाई पत्र लेख्ने हामी किन एक आपसलाई पत्र लेख्दैनौँ ? यहि हुटहुटिले गर्दा होला आज यो लकडाउनको बेलामा एउटा पत्र जनताको नाममा लेख्न मन लाग्यो |

म हजुर जस्तै एक आम नेपाली युवा हुँ | लकडाउनको ४४ औँ दिन चलिरहँदा भोलि के होला र कसो होला भनेर मनमा अनेकौँ प्रश्न खेलिरहेको त छ नै | तर समस्या यस्तो परेको छ कि आँफुले केहि गर्नै नमिल्ने | हामीले गर्न सक्ने भनेको भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने र थच्क्क घरमै बस्ने हो | केहि अराजकतावादिहरुले अटेर गरे पनि मलाई लाग्छ हामी ९५% नेपालीले यी सबै नियमको पालना गरेका छौँ |

हाम्रो परिवारले लक्डाउनको आज ४५ औँ दिनसम्म आइपुग्दा मिठो मसिनो जे जसो हुन्छ खाँदै आएका थियौँ | तर अब २-४ दिन भन्दा बढिको रासन छैन | तेल, दाल, चामल र नुन त भरथेग चलेकै थियो तर त्यसको पनि अब ठेगान छेन | मेरो बुवा होटेल लाईनमा काम गर्ने साधारण म्यानेजर हुनुहुन्छ तर कोरोनाले पर्यटन क्षेत्रलाई पारेको नकरात्मक असरले गर्दा केहि समयका लागि मेरो बुवाको रोजगार समस्यामा परेको छ | म एक मध्यम वर्गिय परिवारमा हुर्केको हुँ | महिना भरिको कमाइले घर व्यवहार चलाउने खालको भनुम् क्यारे | तर मैले यसरी प्रष्ट्याउन पर्दैन होला किनभने नेपालका अधिकांश व्यत्तित्वहरुको जीवन कथा यस्तै छ | कोहि व्यापारी हुनुहोला, कोहि शिक्षक, कोहि बैँकर, कोहि सरकारी कर्मचारी अनि कोहि भने अरु नै जागिरे पेशामा, तर धेरै जसोको सायद महिनाभरिको कमाईले घर खर्च चल्नेखालको जीवनयापन भएको हुनुपर्छ | यदि तपाईहरु यि कुनै वर्गमा पनि पर्नुहुन्न भने यो लेख तपाईलाई सान्दर्भिक नलाग्न सक्छ किनकि यहाँ लेखिएका समस्या तपाईहरुले सामना गर्नुपर्ने छैन | तर जे जस्तो भए पनि अन्तयसम्म पढिदिनु हुन अनुरोध गर्द छु |

लकडाउन फेरि बढेको छ | जेठ ५ गतेसम्मको लागि लकडाउनको नयाँ तालिका सरकारले भर्खरै सार्वजनिक गर्यो | यसैसँगै अब भने मनमा एक प्रकारको बेचैनी सुरु भएको छ | आखिर कहिलेसम्म यसरी थुनिएर, निसासिएर बस्नु ? मुस्किलले ५०-५५ sq ft को कोठामा बसेको ४५ दिन भइसक्यो | यतिका दिनसम्म आइपुग्दा कोठामा बसेर किताब पढ्ने, पत्र पत्रिका पढ्ने, इन्टरनेटमा आफुलाई मन परेको विषयामा खोज अनुसन्धान गर्ने ,चलचित्र, सिरिजहरु हेर्ने आदि इत्यादि गरेर कटायौँ | तर बेचैनि अझै बढ्दै गहिरहेको छ किनभने यो माहामारीले देशको असली स्वरुप देखाउँदै छ। रोकथाम केहि गरि छिटै भएछ भने पनि देशको स्थिति त्यति सजिलै सुध्रिने छैन | कोरोना भन्दा विकराल बन्दै गएको भ्रष्टचार, राजनैतिक अराजकता, असक्षमता, दण्डहिनता, कालोबजारी, घुसखोरी, कर्मचारीतन्त्र, राजनैतिक हस्तक्षप, मनखुसी सरकारी पहुँचको दुरुपयोग जस्ता अनगिन्ति समस्याले नेपाल गिँडिदै गएको छ |

अहिले यो समस्याको घडिमा सरकारले चुस्तताका साथ काम गरेको भए सायद यो सरकार प्रति आशा जागेर आँउथ्यो होला | तर अपसोच् हामीलाई बाहिर ननिस्कन भनेर सरकारका उच्च पदधिकारीहरु भने घिनलाग्दो राजनैतिक लुछाचुँडिमा लिब्द भइरहे | कसरी लकडाउन खोल्ने भनेर समस्या सुल्झाउनुको सट्टा राजनैतिक हानाथाप भइनै रह्यो | फलस्वरुप नेपालका कथित व्यात्तिहरुको साम्यवाद र समाजवाद सोलु देखि कैलालीसम्म, काठमाण्डौँ देखि सर्लाहिसम्म खाली खुट्टै हिँड्नुपर्यो | यहाँ न त मावोवादले समस्या बुझ्यो न त माक्सवादले समाधान दियो | तर त्यो भन्दा अचम्म हामी मध्य कसैले पनि आवाज उठाएनौँ | न नागरीक समाजको कुनै आशलाग्दो आपत्ति आयो न प्रतिपक्षको चित्तबुझ्दो विज्ञप्ति नै | ति निम्न आय भएका व्यत्तिका लागि बोल्ने कोहि पनि भएन | खालि पेट देशकै वारपार गर्न राजी भएका हाम्रा नेपाली दाजु-भाई तथा दिदि बहिनी प्रति सरकारको नजरसम्म पनि गएन | यसरी नै लकडाउन बढ्दै गए केहि समय पछि हजुरको र मेरो पनि यस्तै हालत नहोला भन्न सकिन्न |

सरकारको यो असक्षमता देख्दा मनमा विभिन्न प्रश्न उठ्न थाल्यो | लकडाउनको बेलामा के नै हुन्छ र विशेष काम, यस्तै विभिन्न तर्क वितर्कले समय बितेको थाहा नै हुँदैन | म आँफू राजनीतिको पारखी होइन र सायद म मा यो पत्र लेख्ने जाँगर पनि लकडाउन नभएको भए आउँदैनथ्यो होला | तर यसरी दिनै पिच्छे समाचारहरुमा घिन लाग्दो राजनीतिको नांगो नाच देख्दा राजनैतिक वितृष्णा जागेर आएको छ | नेपालका उच्च अहोदामा आसिन राजनीतिज्ञहरु प्रति मेरो पक्षबाट सम्मान मरिसकेको छ र सायद यो विचारसँग धेरैजना सहमत पनि हुनुहुन्छ होला | तर यस्तो घृणा किन ? आँफैले चुनेको सरकारसँग किन यति रुखो हामी सबै? म राजनीतिको पारखी नभई एउटा साधारण युवाको हिसाबले उत्तर खोज्ने प्रयास गर्दैर्छु |

पहिलो त यो देशमा असाध्यै धेरै राजनीति हुन्छ | स्कुल, कलेज, विश्वविधालय, हस्पिटल, अदालत, होटल, उधोग कलकारखाना आदि ठाउँहरुमा एकदमै दुर्गन्धित् राजनीतिको बिगबिगि छ | कलेज भर्ना, विश्वबिधालय भर्ना, नोकरीको दर्खास्त, व्यापारीक सहुलियत, राहत वितरण जस्ता अनेकौँ परिवेशमा राजनीतिले जरो गाडेको छ | म जस्तो राजनैतिक पहुँच नभएकाले कसरी सामना गर्नु यो अराजकता ? तपाई पनि यदि मेरै जस्तो परिपाटिमा हुनुहुन्छ भने भन्नुहोस् के गरी सामना गर्नु हुन्छ यो समस्यालाई? हामीसँग आवाज उठाउनु बाहेक कुनै उपाय हुँदैन तर न्याय माग्न जाँदा त्यहि न्यायलयमा दुर्गन्धित राजनीतिको हस्को आउँछ | अनि आफ्नो ज्ञान र हुतिले सचिव हुनसक्ने हामी सुब्बा र खरिदारमै जीवन फाल्नु पर्ने हुन्छ, कमाण्डर हुने हामी तल्लो दर्जाको पदमा चित्त बुझाउनु पर्छ | अनि जो व्यत्तिमा हुति हुँदैन, खुबी हुँदैन उसैले देश हाँक्ने जमर्को गर्दा कहाँ राम्रो परिणाम आँउछ त ? स्याउको बिऊ रोपे मात्र स्याउ उम्रिन्छ, स्याउ रोपेर सुन्तलाको आश गर्नु हाम्रो मुर्खता हो तर अपसोच् हामी त्यसै गर्दै छौँ |

दोस्रो, यो देशका सत्तासिन प्रतिनिधिको राजकिय ठाँट प्रतिको मोह| यो देशमा उच्चतम् पदमा आसिन सरकारी व्यत्तित्वमा राजसी ठाँट प्रचुर मात्रामा देखिन्छ | एक सरकारी उच्च पदस्थ व्यत्तिलाई दिइएको सुविधा यसो कोट्टाएर हेरियो भने हामीले यो कुरा बुझ्न अप्ठ्यारो पर्दैन | गाडि, सुसारे, घर, खर्च, अंगरक्षक, छोरा छोरीको पढाई खर्च, उपचार खर्च आदि इत्यादि | यस्तो सुविधा भोगि भएपछि जनताले चुनेको प्रतिनिधि एक प्रतिनिधि मात्र नभएर सुविधाको लोभमा एक शासक बन्न तत्पर हुन्छ जुन अहिलेको राजनीतिमा प्रशस्त रुपमा देख्न सकिन्छ | यो त प्रजातन्त्र भन्या हैन र? जनताबाट जनताका लागि जनताले नै गर्ने शासन पद्धति भनेर पढेको जस्तो लाग्छ | अनि जनताको प्रतिनिधि किन प्रजाबाट शासक बन्न खोज्दैछन् त ? आँफैलाई चुनेको प्रजासमु आउँदा पनि कत्रो ठाँट, कत्रो राजकीय परिवेश ? हामीले जिताएको भनेपछि त हामी पो शत्तिशाली भयौँ त | हामीले जिताउन सके हामीले हराउन नसकिएला र ?

पदमा रहुन्जेल मात्र हैन पदबाट अवकाश पाएपछि पनि सुविधामा कुनै मुख्य परिवर्तन आउँदैन; उहि राजकिय ठाँट बाठ रहन्छ | यत्रो राजर्सी ठाँट धान्नको लागि खर्च कसैले हैन हामीले नै कर स्वरुप प्रदान गर्दै आएका छौँ | तपाई खाडिमा रगत पसिना केहि नभनि कमाएको पैसा यहि सुविधाको लागि खर्च हुन्छ | तपाई आफ्ना आमा,बुबा,श्रीमान,श्रीमति सबै त्यागेर देश छोडेर दिनरात केहि नसोचि कमाएको पैसा यहि सुविधामा बिलिन हुन्छ | तपाईको कमाई रोकिए तपालाई समस्या पर्न जान्छ, जीवनयापनमा कठिनाइ हुन्छ तर उत्त सुविधा रोकिन्छ त? अहँ रोकिन्न, तपाई बाट नपाए कुनै अरु श्रोतबाट असुल्न मिल्छ किनकी कानुन उनिहरुले बनाएका छन् र उनिहरुलाई सो कानुन लाग्दैन | कानुन लाग्ने भए यत्रो काण्डै काण्डमा मुछिएका व्यत्तिहरुलाई किन मुद्दा चल्दैन ? कानुन सबैलाई बराबर भनेको हैन र ? एक आम जनता सुन तस्करीमा परे सर्वश्व थुतिन्छ, धोति न टोपी बनाइन्छ तर सत्तसिन व्यत्ति खुले आम घुसको रकम माग्दा घर बस्न पठाइन्छ भने कसरी हामीले चुनेको प्रतिनिधि हाम्रो लागि काम गर्दै छ भन्ने बुझ्नु ? आफ्नो भैँसीलाइ घाँस, पराल, दाना, पानी, स्याहार सुसार सबै पुर्याउनु छ तर दुध भने कि पाडोलाई मात्र दिन्छ कि छिमेकिले दुहे मात्र दिन्छ भने त्यस्तो भैँसी पालेर के अर्थ ?

तेस्रो, यो देशमा युवाको मह्त्व नै बुझिएको छैन | युवा उमेरमा रगत तातो हुन्छ भन्छन् | आँट र साहसको प्रतिमुर्ति मानिन्छ मानिसको युवा उमेर | ढुंगा खाएर फलाम हग्न सक्ने भनेर चरितार्थ गरिन्छ युवा उमेरको जोस र जाँगरलाई | तर हाम्रो देशमा काइदा के छ भने ४०-५० बर्षका विशिष्टलाई पनि युवा भनिन्छ | २५-३० वर्षका उमेरका मेरा साथी तथा दाई-दिदिहरुलाई चिन्दछु जोसँग केहि नयाँ गर्ने दृढ इच्छाशत्ति छ तर बिचरा उमेरले नेटो काटिसकेकाको पछाडि लाग्नु पर्ने देखेपछि धेरै जनाको मन मर्छ | प्रविधिमैत्रि वातावरण बढाउने र युवालाई संलग्न गराउनु त कहाँ हो कहाँ, जो व्यात्तिलाई कम्प्युटर खोल्न र बन्द गर्नका लागि पनि सुसारे चाहिन्छ उनै हाम्रो देशको प्रविधिमन्त्री या सचिव अथवा सल्लाहाकर हुन्छन् | असक्षमताको यहाँ भन्दा ठूलो उदाहरण केहि हुन सक्दैन | देश यस्तै असक्षम वर्गको हातमा परेको छ जसकारण समस्यै समस्यामा अल्झेको छ | देशमा मात्र हैन विदेशी सभामा पनि आफ्नो उपस्थिति गतिलो तवरले जनाउन नसक्ने जमात छन् हाम्रा प्रतिनिधि मण्डलमा | सबैभन्दा चिन्ताको विषय यहि हो कि हामीले कुशल शासक छान्न नै सकेनौँ | असक्षमताको ताजा उदाहरण यहि कोरोनाले छर्लङग पारिदिएको छ | न आफनो जनता प्रति कर्तव्य बोध छ, न त अगाडि बढ्नलाई गतिलो कार्य प्रणाली नै | लकडाउन लम्ब्याउनु तर्क संगत होला तर लकडाउन मात्र गरेर कोरोना हट्ने होर ? WHO ले कोरोनाको सबैभन्दा उत्तम विकल्प जति सकिन्छ धेरै परिक्षण गर्ने र संक्रमितलाई पहिचान गरि आइसोलेट गर्ने भन्छ | तर हाम्रोमा एक त सुरुमै अत्यावश्यक मेडिकल सामानमा घोटाला अनि कछुवा गतिमा परिक्षण | सरकारको लाचारिपनले गर्दा यस्तो माहामारीमा खट्नुहुने डाक्टर, नर्स बिना गतिलो सुरक्षा उपकरण एउटा साधारण रेनकोटको भरमा खट्नु परेको छ | एउटा साधारण निष्कर्स निकाल्न सरकारलाई हम्मे हम्मे पर्छ किनकि मुख्य कार्यकारी नै असक्षम छन् | जो सक्षम छन् उनिहरु यिनै असक्षमका इसारामा काम गर्नु पर्छ | जब दिमाख र सोचाइ नै परिष्कृत छैन भने बाहुमा बल भएर मात्र के गर्नु ? मुढे बलले रुखसम्म ढाल्न सकिन्छ तर त्यो रुखलाई फर्निचरमा परिणत गर्न सिप चाहिन्छ | हाम्रो प्रतिनिधिहरु मुढे बल भएका मात्र भए, तर्कशील र सिप भएका एकदमै कम भए |

चौथो हाम्रो देशमा बिध्यमान विज्ञान र प्रविधि प्रतिको अन्याय | यो युग विज्ञानको युग हो | खोज, अनुसन्धान र प्रविधिको विज्ञता यो युगको माग हो | ईन्टरनेट र सामाजिक संजालले साँघुरो बनाएको यो युगमा विज्ञानको कति महत्व छ भनेर मैले विशेष गरि अहिलेका युवा वर्गलाई प्रष्ट्याइरहनु पर्दैन | स्मार्ट फोन र ट्याबलेटको मोहमा हुर्केका हामीलाई हाम्रो अघिल्ला पुस्ताको दाँजोमा प्रविधिको बढि ज्ञान छ भन्दा अत्युत्ति नहोला | प्राविधिक दक्षताले देशको आमूल परिवर्तन कसरी हुन सक्छ भनेर बुझ्न हाम्रो दात्री राष्ट्र जापानको इतिहासले छर्लङग पार्छ | अणु बमले ध्वस्त भएको जापानको आर्थिक र सामाजिक स्थिति दयनिय थियो | तर दोस्रो विश्व युद्ध पश्चात जापानले आँफूलाई उकास्न हर तरहको प्राविधिक दक्षताको भरपूर प्रयोग गर्यो | सोनी, टोयोटा, पानाशोनिक, मित्सुबिसि, यामाहा जस्ता प्राविधिक कम्पनीहरुको सुरुवात र त्यसका लागी चाहिने दक्ष जनशत्ति आफ्नै देशबाट खटाउन सुरु गर्यो | अहिले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको छ | यस्तै समान इतिहास कोरिया, चीन, बेलायत, जर्मनी, अमेरिका, रुस आदि थुप्रै राष्ट्रको रहेको छ | यी राष्ट्रहरु शत्ति राष्ट्र हुनुमा विज्ञानले ठुलो भूमिक खेलेको स्पस्ट देखिन्छ | खोज र अनुसन्धानलाई यी राष्ट्रले आफ्नो उच्च आवश्यक्ता मान्छन जसकारण विज्ञानको विभिन्न क्षेत्रमा यी राष्ट्रले गरेको प्रगति लोभ लाग्दो छ |

तर कठ्ठै बरा हाम्रो देशमा विज्ञान !! कहिलै गतिलो मलजल र स्याहार सुसार नपाएर मुर्झाएको बिरुवा समान भएको छ नेपाली विज्ञान | विज्ञानको बारेमा ओकालत गर्ने व्यात्ति नगन्य मात्रमा छन् | केहि समय अगाडिसम्म स्थिति झन् दयनिय थियो तर अहिले केहि क्रमिक सुधार हुँदै गहिरेहेको छ | तर सबैभन्दा ठूलो समस्या विज्ञानको राजनीतिकरण नै हो | क्याम्पस पढ्न आउने विधार्थी देखि पढाउन आउने प्रोफेसरसम्म सबलाई राजनीति लागेको हुन्छ | देशकै जेठो विश्वविधालय र कलेजहरुमा हुने घृणित राजनीतिले यो कुरो सबै छर्लङग पारेको छ | यसै त मेरो पुस्तालाई राजनीति मन नपर्ने त्यसमाथि यस्तो फोहोरी राजनीति भएपछि उच्च शिक्षाका लागि विदेशिनु स्वाभाविक हो | देशमा खोज र अनुसन्धानको वातावरण त छँदै छैन, केहि गरि काम गर्ने वातावरण भइ हाल्यो भने त्यसमा पनि राजनीति मिसाइदिन्छन् | विज्ञानलाई बजेट आँखालाई छारो हाल्ने किसिमको हुन्छ जुन सहि सदुपयोग त हुँदै हुँदैन | घुस र भ्रष्टचारले अस्पताल र न्यायलाय नछोडेको मेरो देशमा विज्ञान र प्रविधिको विभाग छोड्ने त कुरै भएन | प्राविधिक पदमै भएका व्यत्तिले अनैतिक रुपमा अकुत सम्पत्ति कमाईरहेका छन् | इन्जिनियर र डाक्टरहरु घुस लेनदेनका कारण समातिएको समाचार हामी सबैलाई अवगत नै छ |

यसरी पहिलो, दोस्रो गर्दै आफ्नो निराशा, क्रोध, आवेगलाई शब्द दिन खोजे सायद सयौँ हरफ निस्कन्छन् होला र त्यति लामो लेख कसैले पढ्दैनन् पनि | अहिलेका हामी युवालाई परिस्कृत राजनीति भनेको कस्तो हुन्छ भन्ने कुराको ज्ञान छैन त्यसैले यो देशको केहि मेसोमेलो पाएका छेनौँ कि जस्तो भान हुन्छ| यो पत्र तिनै युवाहरुको संयुत्त आवाज बन्न खोजेको हो | एउटा युवाको आँखाले देख्दा कस्तो देख्दछ त अहिलेको नेपाल भन्ने कुरो यो लेखमा दर्शाउन खोजिएको हो |

म त एक आम नेपाली युवा हुँ, जसले एक साधारण देशको कल्पना गरेको छ | मलाई कर्म र सीप खोज्न विदेश जानु नपरोस् , जागिर खोज्दा राजनैतिक नाच नाच्नु नपरोस् | म चहान्छु कि देशको प्रधानमन्त्रीले आफ्नो छोराछोरी पढाउने विधालयमा मेरा बा आमाले मलाई पढाउने हैसियत राख्न सकुन्, अरबपतिले उपचार पाउने अस्पतालमा मेरा सन्ततिले उपचार पाउन् | म चहान्छु कि मैले अपराध गर्दा कडा भन्दा कडा दण्ड जरिवाना गरियोस् तर सरकारी व्यत्ति चाहे ती देशकै शासन व्यवस्था सम्हालेर बसेकै किन नहुन्, यदि सोहि किसिमको अपराध गर्छन भने मेरै समान दण्ड जरिवाना गरियोस् | म चहान्छु कि म चढेको गाडिमा मेरा प्रतिनिधि पनि चढि कार्यालय जाउन्, म पैदल हिँड्ने बाटोमा मेरा प्रतिनिधी पनि पैदल हिँडुन् | यदि पदमा पुगेपछि जनता भएर बस्न सकिदैन भने जनताको मर्म र पीडा कसरी बुझ्छन हाम्रा प्रतिनिधिहरुले ? तसर्थ चुनाव अघि प्रजा र चुनाव पछि शासक बन्ने अहिलेको भावनाको अन्त्य होस् | राजनीति केवल राजनीतिका लागि मात्र गरियोस् |

मानौँ तपाई आफ्नो गाडिमा कतै टाढा सुन्दर ठाउँ घुम्न जान चहानु हुन्छ | तपाईको सारा परिवार त्यस गाडिमा सवार छन् तर तपाईलाई गाडि चलाउन आँउदैन | यसो भए पछि तपाई अवश्य पनि एउटा उम्दा र उत्कृष्ट चालक खोज्नु हुन्छ किनकि तपाईलाई आफ्नो गाडिको, परिवारको, आफ्नै ज्यानको धेरै माया हुन्छ | अब यो देश पनि एक गाडि जस्तै मानौँ अनि तपाई हामी यसका प्यासेन्जर | अब भन्नुहोस् यो देशको चालक कस्तो छान्ने ? आफ्ना परिवारको, आफ्नो ज्यानको अनि आफ्नो देशको माया छैन र हामीलाई ? देश सुरक्षित रहे पो हामी सुरक्षित रहन्छौँ | अनि गन्तव्यमा पनि त पुग्नु छ हामीलाई; हाम्रो गन्तव्य अर्थात् परिष्कृत नेपाल |

--

--

Bipin Lamichhane

The dead will always be dead but we have to go on Living.