काठ्माण्डु, विधार्थी र डेरा

Bipin Lamichhane
3 min readDec 23, 2020

काठ्माण्डु विचित्रको सहर हो | यो खाल्डोले यति थेगेको छ कि सायद यो पनि जमिनहरुको केपि वुढा हुनु पर्छ, जे जस्तो आइपरे पनि पचाउन सक्ने | एतिहासिक मानिने यो सहरमा उ बेलाँ गोपालवँशीहरु आए देखि अहिलेसम्म कति घटना घटे होलान् लेखा जोखा गरि साध्य छैन |पृथ्वीनारायण शाह देखि जंगबहादुर सम्म , त्रिभुवन देखि महेन्द्रसम्म सबैको लोकाचार हेरेको छ यसले | अनि बुझेको छ हरेक वर्गको कठिनाइ,पीडा र सम्भावना |

तर एक साधारण नेपालीका लागि काठ्माण्डु राजधानी मात्र हैन, अवसरहरुको खानी हो | विदेशीनु परे काठ्माण्डु, उच्च शिक्षा लिनु परे काठ्माण्डु,जागिर खोज्न काठ्माण्डु, व्यापार गर्न काठ्माण्डु, राजनिति सिक्न काठ्माण्डु आदि इत्यादि | अनि व्यत्ति र पेशा अनुसार ठाँउ छुट्टाइएको छ ; जस्तो कि विधार्थीलाई किर्तिपुर, भत्तालुलाई गौशाला, विदेशीलाई ठमेल अनि हनुमानहरुलाई बालुवाटार र सिंहदरबार |यसरी मिलाएर राख्न सक्नु काठ्माण्डुको कला नै हो र यस्तो कलाको लागि काठमाण्डुलाई मान्नैपर्छ| त्यसैले बाहिरबाट आउनेका लागि काठ्माण्डु नौलो हुनु , पराई हुनु स्वाभाविक हो | अनि घरि के घरि के नमिलेर पनि चित्त बुझाइ बस्न बाध्य हुनेका लागि चाहिँ यो उहि हाक्कु कालेले भन्या जस्तै “गिद्धै गिद्धको सहर” सरह हो, कुन बेला लुछाचुँडिमा परिन्छ थाहा नै हुँदैन |

काठ्माण्डुमा ठूलो वर्चश्व राख्ने एक वर्ग चाहिँ राजधानी बाहिरका विधार्थी हुन्| यस्ता विधार्थीको बसोबास प्राए पाठशाला नजिक हुन्छन्; जस्तै किर्तिपुर, पुलचोक, लैनचौर, वनस्थली आदि | देशकै राजधानी भएपछि त्यसै अनुसारको विकासको कल्पना गरेर आएको म झट्ट काठ्माण्डु हेर्दा अक्क न बक्क परेँ | समस्या त यहाँ पाइलै पिच्छे रहेछ बस् यहाँका जनता समस्यासँग बाँच्न सिकिसकेछन् |यहाँको अव्यवस्थित वस्ति विकास र गल्लिले धेरै वर्षसम्म मेरो ध्यान खिच्यो | यस्तो साँघुरो वस्तिमा आगलागि भए के गरि निभाउनु भनेर मनमा अनेक तर्कवितर्क गर्दै म असन र इन्द्रचोक घुमेको अझै पनि बिर्सेको छैन | तर विधार्थी भएको फाइदाले होला मलाई असन र इन्द्रचोक तिर कोठा लिनु परेन | तर पनि डेरामा बस्ने भनेपछि कहाँ त्यति सजिलो छ र ? यी ७ वर्षमा डेराका धेरै अनुभव सँघाल्न पाउँदा खुशी नै लाग्छ अनि यसै बिच उता आफ्नो घरको यादले यदा कदा मनमा झट्का भने हानि नै रखेको हुन्छ |

काठ्माण्डुमा सर्वप्रथम त घरबेटि कस्तो पर्छन भन्ने कुराले त्यहाँ हुने बसाईमा धेरै ठूलो महत्व खेल्छ | अनि घर कस्तो पर्छ त्यसले पनि बसाई कत्तिको सजिलो हुन्छ ठम्याउन सकिन्छ |म दोस्रो सेमेस्टर बसेको घरमा एउटा रमाइलोअनुभव छ | दुइजना बस्ने भनेर कोठा खोज्न एकजना दाइलाइ पठाइयो अनि दाइले पनि चोकमै एउटा घर रहेछ सस्तो पनि रहेछ भनेर कुरो बुझेपछि कोठा सर्ने, म र एकजना साथीले निर्णय लिएम|दाईले पनि हतारमै कोठा खोजेका रहेछन भनेर तेति बेला बुझियो जब यो थाहा भयो कि तेत्रो चार तले घरमा त मात्र एउटा टोइलेट रहेछ | अनि बाथरुम को व्यवस्था नभएकाले बाहिर बिग्रेको ट्युबवेल चलाएर पानी निकाल्नु पर्ने रहेछ | हेर्दा नै २०-२५ वर्ष पुरानो देखिने घरमा पनि यी समस्याका बाबजुद ६-७ महिना बसियो | धन्न गर्मिको मौसम थियो र बिहान ६ बजे उठेर बाहिर नुहाउन सक्ने आँट गरियो । तर गर्मी सिद्धिना साथ आर्को कोठा खोज्ने निर्णय चाहिँ मनमा लिसकेको थिएँ मैले | त्यो ट्युबवेलको पानीले मेरा गन्जी जति नै पहेलो बनाए पनि यादहरु भने रङ्गिबिरङ्गि नै बुन्न पाएको मा खुशी नै थिएँ |

कोठा त यो शहरमा भनेजस्तो र खोजे जस्तो जति पनि पाइन्छ नि तर त्यसका लागि चाहिने लक्ष्मी सबैसंग नहुनाले अप्ठ्यारो हुने हो | विधार्थी जीवनमा पैसाको समस्या हर कोहिले महशुश गरेका हुन्छन नै | मेरो ७ वर्षको काठमाण्डु बसाईमा अहिलेसम्म म धारामा पानी आउने घरमा बसेको छैन | अझ भन्नुनै पर्ने हो भने त चौथो तलामा बस्ने म तल भुइटंकिबाट एक बाल्टि पानी बोकेर शौचालय गर्नेु पर्ने कोठामा पनि बसेको छु | तर यहाँ कोठा जति नै अप्ठ्यारा किन नहुन् सम्बन्ध भावनात्मक नै बन्छन जसले गर्दा कोठा छोड्ने दिन कता कता मनमा एक असल मित्र गुमाएको महशुस हुन्छ|

अधिकांश विधार्थीका लागी कोठा र विधार्थी जीवन एक अर्काका परिपुरक नै हुन् | विधार्थी जीवनका उतारचढाव,साथी-भाईसँगको रात्रिकालिन भोज र मोजमस्ति, प्रियसीसँगको अनेकौँ रात्रिकालिन वार्तालाप, परिक्षाका पुर्वतयारीका रात, दुख पर्दा फेरेका कोल्टे, अप्ठ्यारो पर्दा फेरिएका श्वास, प्रेमको विछोडमा रित्ताइएका रक्सीका बोत्तल, खुशीमा गरिएका भोजभतेर, कक्षा बन्क गरेर खेलिएका तासका खाल आदि इत्यादि सबै खाले घटना र परिघटनाका लेखा जोखा कोठामा बस्ने एक विधार्थीले गरेको हुन्छ | तसर्थ कोठा एक हिसाबले हरेक विधार्थीको परम मित्र भएकै हुन्छ |अनि आफ्नो यस्तो अनन्य मित्रबाट सदाका लागि टाढा हुँदा कस्को आँखा नरसाउला, कस्को मन अमिलो नहोला र?

म पनि अब धेरै वर्ष काठमाण्डु बस्नु पर्छ नै तर पनि किन हो कुन्नी आफुले विधार्थी जीवन बिताएको कोठा छोड्न भने मनले मानिरहेको छैन | उसो त मैले अहिलेसम्म यो कोठामा आउन ४ वटा कोठा चहारिसकेको छु | हरेक कोठाका आफ्नै खालका समस्या थिए नै तर पनि कोठा छोड्दा एकैछिन मन अमिलो भएकै हुन्छ र सायद यस्तो हुन कहिलै नरोकिएला | आखिर विछोड त कसलाई नै मनपर्छ र चाहे त्यो मान्छेसँग होस् या कोठासँग |

--

--

Bipin Lamichhane

The dead will always be dead but we have to go on Living.