मलाई विश्वास लाग्दैन ।
बस् भयो अब
मलाई तिम्रा समृिद्धिका सपना नदेखाउ
म सपना देख्न छाडिसकेको मान्छे हुँ
म बाध्यतामा अडि राखेको मान्छे हुँ
मलाई तिम्रो समृिद्धिमा विश्वास लाग्दैन ।
बस् भयो अब
मलाई रेल चढाउँछु नभन, पाइपमा ग्याँस नदेउ
म बाटोमा बस्न नमिल्ने माग्नेको सन्तान हुँ
म भोकमरीमा खान नसकेको सिमान्तक्रितको छौँडा हुँ
मलाई मेरै पेटमा लात्ता हान्नेको विश्वास लाग्दैन
बस् भयो अब
मलाई शैक्षिक सुधार र स्वस्थ्य व्यवस्था नभन
म भाइ पाउँदा मरेकी आमाको एक्लो टुहुरो हुँ
म किताब कलम नबुझेको श्रम गर्ने बबुरो हुँ
मलाई मेरै आमा र भविष्य मार्नेको विश्वास लाग्दैन
बस् भयो अब
हामीले गर्दा तैँले यत्तिको बोल्न पाएको छस् नभन
तिम्रो क्रान्तिमा मैले मेरो आधा शरीर विलाएको हुँ
तिम्रो मार्सी पाक्दै गर्दा मैले मेरो चुलो सेलाएको हुँ
मलाई आँफैले गरेको त्यो क्रान्तिको विश्वास लाग्दैन
बस् तिमी अब आफ्नै थैलो भर
आफ्नै आसेपासेको रोदन सुन्दै गर
मेरा लागि तिमी मरिसकेका छौ
तिम्रो लागि म मरिसकेको हुँ
मलाई मरेको सिनो विउँझेला भन्नि विश्वास लाग्दैन
अब मलाई विश्वास छ त केवल
तिम्रो अकर्मण्यता र लाचारीपनको
तिम्रो गएगुज्रेको सोच र पापी मनको
बस्
तिमीलाई सिमित जीवनमा असिमित सम्पति चाहिया छ
मलाई आफ्नो रोदन पोख्न आर्को क्रान्ति चाहिया छ !