मीठो लड्डुः एक लघु कथा

Bipin Lamichhane
5 min readOct 7, 2021

“बाबु उठ् त छिटो, ब्यन्जनमा स्यानड्विच् ब्रेड अर्डर आको छ,छिट्टै पुराइदिनि रे।“ आमाले ढोका बाहिरबाट एकोहोरो आदेश दिनु हुँदै थियो | म कता हो कता हरियो न हरियो पहाडको टाकुरामा विचरण गरेको सपनाबाट आमाको आवाज सुनेर झस्याङ्ग बिउझिएँ | सिरानीतिर हात घुसारेर मोबाइल खोलि हेरेको बिहान ६ बजरे ५३ मिनेट देखाएको थियो | आङ तानेर यता र उता बटारिँदै आँखा मिचेँ अनि यस्सो झ्याल तिर नजर डुलाको त असारे झरि जस्तो पानी पिरपिर परिरहेको थियो | सायद बिहानै देखि पानी परेको हुनुपर्छ मौसम पुरै गुम्म थियो | मौसमले नै “बिस्ताराबाट किन उठ्ने होर, थुपुक्क सुते हुँदैन” खालको आभाश दिइराखेको थियो | मनमनै “यस्तो झरिमा यो पाउरोटि छोड्न क्यार्न जानु यार” जस्तो भइराखेको बेला आमाले फेरी बाबु भनेर चिच्याको सुनेर बल्लतल्ल उठेँ | यस्सो मुख धोइवरि जकेट र ट्राउजर अनि बाहिर बाट टु पिस रेनकोट लगाएर लेकसाइड जाने आदेश बुवाले दिनुभयो | १६ वटा लार्ज साइजका स्यानड्विच् ब्रेड, अनि केहि बर्गर बन र हटडगको ब्रेड थिए | यि सबलाई प्लासटिकमा प्याक गरिवरि झोलामा राखेर स्कुटरमा लोड गरेँ | पुरानो थोत्रो डियो स्कुटरले डेलिभरि साधनको रुपमा मलाई सहयोग गर्या थियो तर यसको केहि भर थिएन | कहिँ गएर स्टार्ट बन्द भइदियो भने १५ मिनेट किक र सेल्फ नाहने सम्म स्टार्ट हुन्थेन | रिसले स्कुटर हुत्याइदिम झैँ हुन्थो कुनै कुनै बेला त | तर कसरी कसरी काम चैँ चलिरहेको थियो | स्कुटरमा सामान राखेर मैले बुवासँग बिल माँगे अनि ब्यन्जन तिर लागेँ | आमाले निस्किनि बेलामा केहि तरकारी भेटिस् भने लेर आएस है भनेको सुन्या थिएँ | मनमनै “ल ल बुढिमाउ” भन्दै स्कुटरको एक्सलरेटर बटारेँ | पानी रिमरिम परि नै रहेको थियो तर मौसम साह्रै जाडो भने थिएन |

बिहानको समय त्यसमा पनि पानी परिरहेको; यहि भएर होला बाटामा गाडिको चाप तेत्ति थिएन | घरबाट निस्केको दस मिनेटमै म ब्यन्जन पुगेँ अनि ब्रेड सबै बुझाइदिएँ | निस्केर स्कुटर घुमाएँ अनि घर तिर हानिएँ | आज घटसथापना हो तर कोभिड र यो बेमतलबी झरिले दशैँ नजिकै छ जस्तो लागेकै थिएन | म स्कुटर बिस्तारै हाँक्दै बाटो वरिपरि तरकारी बेच्न बसेकी बुढिआमाहरु खोज्दै थिएँ | बिहान बिहान मण्डि जाने जाँगर नभएका म जस्तालाई तरकारी बोक्ने बुढिआमाहरुले ठूलो गुण लगाएका छन् | उनिहरुलाई सहयोग पनि हुने अनि तरकारी पनि किनिने भएको हुनाले प्राय म यस्तै बुढिआमाहरु खोज्दथेँ तरकारी किन्न | तर पानी परेको भएर होला मैले आज तरकारी बोकेर हिँडेको खासै त्यत्ति कोहि देखिरहेको थिइन | त्यहि भएर म निस्फिक्री आफ्नै पारामा यसो यता उता हेरेर स्कुटरमा कुद्दै थिएँ | केहि समय पछि मैले एकजना बुढिआमालाई डोको भरि तरकारी राखेर एउटा मिठाई पसलको पिँढिमा ओत लागेको देखेँ | मैले स्कुटरलाई यस्सो साइड लाएर रोकेँ अनि ति आमा भए नजिक गएर तरकारी के के रहेछ हेरेँ | झरिले भिझेको डोकोमा प्लास्टिकले छोपेको इस्कुस र सिमी आमाले मलाई देखाउँदै थिइन् अनि म चाहिँ कतै कुनै कुहिएको त छैन नि भनेर तरकारी केलाउँदै थिएँ |

ठ्याकै तेहि बेला एउटा मसिनो तर सुरिलो आवाजमा कसैले पछाडि पट्टिबाट “खै यस्सो बाटो छोड्दिनुन” भनिन् | म यस्सो पछाडि फर्केर को रहेछ भनेर हेरेँ अनि हेरेको हेरै भएँ | कालो फुकेको सुरुवाल, सेतो बुट्टेदार कुर्था अनि कम्मरमा बाँधिएको कालो चुन्नि | उनको पहिरन नै स्वर्गकि अप्सराको जस्तो लागिरहेको थियो | गाजल लगाएका ति ठुला आँखाले मलाई हेर्दै उनले थोरै छेउ तिर जान मलाई इसारा गरिन् | म अवाक हुँदै छेउमा सरेँ | उनि उमेरले २४-२५ भन्दा बढि नहोलिन् | कद सायद ५ फिट ३ ईन्च जत्ति | उनले मास्क लगाएकी थिइन तेहि भएर उनको पुर्ण अनुहार कस्तो होला भनेर मेरो मनमा कौतुहलता जागेको थियो | मास्क नखोलदै यति सुन्दर देखिने यि युवति अझ कति राम्रि होलिन् भनेर म मनमनै सोचिरहेको थिएँ | उनको वर्ण गोरो थियो, अनि देखिएको अनुहारमा कतै पनि दाग थिएन| उनि ति बुढिआमालाई चिया दिन त्यहाँ आएकी रहिछिन् | कुरो बुझ्दै जाँदा उनि त्यस मिठाई पसलेकी छोरी हुनुपर्छ भनेर मैले अड्कल काटेँ | तरकारी किन्न गाको मान्छे उनिसँग बोल्ने कुनै कुरै भएन | तर पनि एकछिन अझै हेर्ने रहरले छानी सकेको इस्कुस र सिमी केलाए जस्तै गर्दै उनि तिर आँखा दौडाउन थालेँ | तर उनि पसल भित्र गइसकेकी थिइन् | “हैट ! कति राम्री यार” म मनमनै आँफैसँग वर्तालाप गर्दै थिएँ | उनि बाहिर निस्किने सुरसार नदेखेपछि म आँफै चिया खाने निहुँमा पसल छिरे | कहिलै बाहिर चिया नखाने म आज दुध हालेको चिया अर्डर गरेँ र उनलाई मनमनै पर्खिरहेँ | सायद आज भगवान दाहिने हुनुपर्छ, मलाई उनैले चिया ल्याइदिन् | खोई किन हो किन तर उनि मलाई बिछट्टै सुन्दर लागि रहेकी थिइन | म एकटकले उनलाई हेरेको हेरै भइरहेको थिएँ | सायद त्यसैले होला एक दुईचोटि आँखा जुधेपछि उनका आँखाले मलाई तर्कि रहेका थिए | म के भनेर बोलम् सोच्न खोजिरहेको थिएँ कि एक्कासी मेरो फोन बज्यो | यसो हेरेको आमाको रहेछ | मैले फोन उठाएर हजुर भनेको त आमाले “किन ढिलो भयो केटा, स्कुटर बन्द भयो क्या ? “ भनेर मलाई सोध्नुभयो | मैले “ हैन हैन, यहाँ तरकारी किन्न ढिलो भयो पानी परेर” भनेर कुरो टारेँ | आमाले छिटो आइजा यहाँ बुवाले खोज्नुभाछ तँलाई भनेर फोन राख्दिनुभयो | म मिल्ने भए दिन रात तेहि पसलमा बास बसेर उनको प्रतिक्षा गर्ने थिएँ तर अपसोच् त्यो सम्भव थिएन |

मनले नमानी नमानी म काउन्टर तर्फ हिँडे र चियाको पैसा तिर्न लागेँ | काउन्टरमा बस्ने पक्कै उनको आमा हुनुपर्छ, अनुहार दुवैको उस्तै उस्तै थियो | पर्समा पैसा हेर्दै गर्दा एकजना सानो १३-१४ वर्षको फुच्चे लड्डु दिनुन भन्दै काउन्टर नेर आयो | यो सुनेर ति आमाले “छोरी यहाँ बाहिर आइजा त, यो आरभलाई लड्डु जोखेर प्याक गर्दे त” भन्दै आवाज लगाईन् | मैले मनमनै “एस्” भन्दै उनलाई हेर्ने आशामा पर्समा ५० रुपैयाँ भएपनि ५०० रुपैयाँ दिएर “आमा खुदुरा नै रहेनछ” भनेँ | ति आमाले “बाबु बिहान बिहानै त साट्नी नै हुँदैन भन्या, व्यापार नै भाछैन” भन्दै काउन्टरमा पैसा खोज्न थालिन् | उनि बाहिर आईन् | आहा क्या मिलेको चाल, कति फुर्तिलि, कति मिलेको कद | हाय !! कति राम्री हो गाँठे | मेरो मन यस्तै वैचारीक विमर्श गर्दै थियो | यत्तिकैमा उनले त्यो सानो फुच्चेसँग भनिन् “रेणु दिदिले देको मीठाई एकदम मीठो हुन्छ भन् त्यहाँ मम्मीलाई”। ओहो !! रेणु पो हो नाम!! आहा नाम पनि क्या राम्रो रेणु नै हो कि रेणुका होला नाम | यस्तै सोच्दै थिएँ कि ति आमाले काउन्टरबाट “बाबु साट्नै पुगेन के गर्नि होला” भनेर मुसुक्क हाँसिन् अनि छोरी तिर हेरेर “यसको साट्नी छ” भनेर सोधिन् | रेणुले पैसा नभएको ईशारा गरिन् अनि मैले “केहि भएन आमा, यसो गरुम् न त” भनेर केहि बेर पछि त्यहाँबाट निस्किएँ |

घर आउँदा सदाको भन्दा आज थोरै ढिलो भाको थियो | स्कुटरलाई ओतमा राखेर म सरासर किचन पसेँ र तरकारीका पोको किचेनको टेबुलमा राखेँ | आमाले चिया र दुधमा सातु फिटेर राख्दिनु भएको थियो | मैले हात धोएर पानी र चिया लिएर माथि कोठामा जान लागेँ| यत्तिकैमा आमाले “ल्याएसी अलि गतिला इस्कुस ल्याउनु पर्छ नि, कति साना इस्कुस हुन्” भनेर भन्दै हुनुहन्थ्यो | मैले “यत्रै भेटेँ अनि ल्याएँ, पानीले सुनसान छ बाटो, अरु कोहि थिएनन्” भनेर गफ लाएँ | यत्तिकैमा आमाले “अनि यो के हो नि भनेर तरकारीका प्लास्टिकका बिच आर्को प्लास्टिक खोल्नु भयो | अनि अचम्म मान्दै “ हैन यत्ति धेरै लड्डु किन ल्याको हो फेरी | एउटा काम अह्रायो अर्कै अर्कै गरेर आउँछ | के भका हुन् आजकलका केटाकेटी |” भनेर आमा एक्लै एक्लै बोल्नथाल्नु भयो | मैले पनि “मीठै छन् रे लड्डु, आज घटसथापना भनेर यसो पर्शाद जस्तो ल्याको हो “ भनेर कुरो टारेँ अनि आफ्नो कोठा छिरेर बिस्तारामा पल्टिएँ | अनि गोजिबाट मोबाइल निकालेर फेसबुक खोलेर सर्च गर्न थालेँ “आर…. इ…..एन्……………………………….”

--

--

Bipin Lamichhane

The dead will always be dead but we have to go on Living.